इरानले प्रदर्शनकारीको हत्या गरे अमेरिकाले हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी
सहयात्रा टिभी
काठमाडौं । पुस १९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी शान्तिपूर्ण प्रदर्शनमा दमन नगर्न र प्रदर्शनकारीको हत्या नगर्न त्यहाँका अधिकारीहरूलाई कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले इरानी जनताको रक्षाका लागि वासिङ्टन “उद्धारमा आउने” बताएका हुन्। ट्रम्पले अमेरिका कुनै पनि कदम चाल्नका लागि पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गरे पनि सम्भावित सैन्य वा अन्य कारबाहीबारे विस्तृत जानकारी भने दिएका छैनन्।

ट्रम्पको यो चेतावनीप्रति इरानका सर्वोच्च नेता आयतुललाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारीजानीले कडा प्रतिक्रिया जनाएका छन्। लारीजानीले ट्रम्पलाई सावधानी अपनाउन सल्लाह दिँदै इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप भए त्यसले मध्यपूर्वमा अस्थिरता निम्त्याउने र अमेरिकी हितमै गम्भीर क्षति पुग्ने चेतावनी दिएका छन्।
पछिल्लो समय इरानमा बिग्रँदो आर्थिक अवस्था र मुद्रास्फीतिका कारण सुरु भएको आन्दोलनले उग्र रूप लिइरहेको छ। झन्डै एक हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भइसकेको छ। प्रदर्शनकारी र सुरक्षा फौजबीच भएका झडपमा लर्डेगन, अज्ना, कुहदस्त र मर्भरदस्त लगायतका सहरहरूमा मानवीय क्षति भएको विवरणहरू प्राप्त भएका छन्। कतिपय स्थानमा प्रदर्शनकारीहरूले गाडीहरू जलाएका छन् भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच दोहोरो झडपका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
यसअघि गत जुन महिनामा ट्रम्पकै आदेशमा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो, जसका कारण दुई देशबीचको तनाव चरम बिन्दुमा पुगेको थियो। सो आक्रमणको बदलामा इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो। अहिले फेरि ट्रम्पको नयाँ चेतावनीले क्षेत्रमा थप तनाव बढ्ने सङ्केत देखिएको छ।
प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले भने अमेरिकी समर्थनको स्वागत गरेका छन्। तेहरानकी एक प्रदर्शनकारीले बीबीसीसँग कुरा गर्दै इरानी सुरक्षा निकायहरू ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका भनाइबाट त्रसित हुने गरेको दाबी गरिन्। उनले प्रदर्शनकारीहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय समर्थनको आशा गरिरहेको र सुरक्षाकर्मीहरूले आफ्नो कदमको परिणाम भोग्नुपर्ने डर पैदा भएको बताइन्।
इरानमा आइतबार तेहरानका पसलेहरूले मुद्रा ‘रियाल’ को अवमूल्यनको विरोधमा सुरु गरेको यो प्रदर्शन अहिले देशभर फैलिएको छ। प्रदर्शनकारीहरूले आर्थिक मुद्दाका साथै देशको धार्मिक नेतृत्व र शासन व्यवस्थाकै अन्त्यको माग गरिरहेका छन्। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रदर्शनकारीका जायज मागहरू सुन्ने बताए पनि महान्यायाधिवक्ता मोहम्मद मोवाहेदी-आजादले भने अस्थिरता फैलाउने जोकोहीलाई निर्णायक जवाफ दिइने चेतावनी दिएका छन्। सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको ठुलो विद्रोहपछिको यो सबैभन्दा व्यापक प्रदर्शन मानिएको छ।


