कांग्रेस विवाद सुल्झाउन गगन र लेखकबीच छलफल, अझै जुटेन सहमति
सहयात्रा टिभी
काठमाडौं । पुस २६, नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आह्वानसँगै चर्किएको आन्तरिक विवाद समाधानका लागि महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच भेटवार्ता भएको छ। पार्टी विभाजनको खतरा बढेको विश्लेषण भइरहेका बेला दुई नेताबीच समस्याको निकास खोज्ने उद्देश्यले छलफल भए पनि हालसम्म कुनै ठोस सहमति भने जुट्न सकेको छैन।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तय गरेपछि कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच दूरी बढेको छ। उत्पन्न गतिरोध अन्त्य गर्न नेताहरूबीच रातभरजसो छलफल भए पनि कुरा मिल्न नसकेको नेता प्रकाश स्नेही रसाइलीले जानकारी दिए। उनका अनुसार संस्थापन पक्षको तर्फबाट नेता लेखकले राखेको प्रस्तावलाई महामन्त्री थापाले अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको हो।
नेता रसाइलीले विभिन्न माध्यमबाट दुई पक्षबीच संवाद भइरहेको भए पनि सहमति बन्न बाँकी रहेको बताएका छन्। उनले संस्थापन पक्षले अघि सारेको प्रस्तावको विस्तृत विवरण नखुलाए पनि दुवै पक्ष आफ्ना अडानमा कायम रहँदा निकास निकाल्न कठिन भइरहेको सङ्केत गरे। पार्टीभित्रको यो शक्ति सङ्घर्षले कांग्रेसलाई विभाजनको दिशातिर धकेल्ने आशङ्का गरिएका बेला नेताहरूबीचको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


