एउटै व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ : विश्वप्रकाश शर्मा

सहयात्रा टिभी

काठमाडौं । पुस २८, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गर्नु परेको बताए । महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताए।

उनले भने, ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने डेढ दशकयता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उदघोष गर्दछ–नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि २ पटकभन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । २ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ । देशलाई स्थिरतातर्फ लैजान नीतिगत पहल गर्दछौँ ।’

महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताए । प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन हुने गरेकाले अब समन्यायिक विकासको अवधारणाअनुसार बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्