राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ ४, राष्ट्रियसभाको १९औँ अधिवेशन आज (आइतबार)देखि सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको साविकको संसद् भवन ‘जेन-जी आन्दोलन’का क्रममा जलेर ध्वस्त भएपछि यसपटकको अधिवेशन सिंहदरबारमै सञ्चालन गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज माघ ४ गते आइतबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका थिए । यसअघि भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यस्तो छ पहिलो बैठकको कार्यसूची
अधिवेशनको पहिलो बैठकका लागि सम्भावित कार्यसूची तय भइसकेको छ । बैठकको प्रारम्भमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै, बैठकमा हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अधिवेशनको तयारीका सन्दर्भमा अध्यक्ष दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत आवश्यक छलफल गरिसकेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा भइसकेको छ ।

निर्वाचनको सरगर्मी
एकातिर राष्ट्रियसभाको अधिवेशन शुरु हुँदैछ भने अर्कोतिर रिक्त हुन लागेका सदस्य पदका लागि चुनावी तयारी पनि तीव्र पारिएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन गर्ने तयारी गरेको छ । सोही प्रयोजनका लागि भएको प्रक्रियामा एकजना सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

बानेश्वरस्थित संसद् भवनको क्षतिले सिंहदरबारको सीमित भौतिक पूर्वाधारमा अधिवेशन सञ्चालन गर्नुपर्ने बाध्यता भए पनि सचिवालयले यसलाई व्यवस्थापन गरेको जनाएको छ ।

प्रकाशित : 18 January, 2026

प्रतिक्रिया दिनुहोस्