उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु
सहयात्रा टिभी
काठमाडौं । माघ ४, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै तराईका केही स्थानहरूमा बिहान र रातिको समयमा हुस्सु तथा कुहिरो लाग्ने जनाएको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आइतबार राति पनि कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् । तराईमा लाग्ने हुस्सु र हिमाली भेगमा हुने हिमपातका कारण हुनसक्ने चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


