एमालेको चुनावी टिकट वितरणमा महाधिवेशनको प्रभाव, इतर पक्षमाथि निर्मम ओली
सहयात्रा टिभी
काठमाडौं । माघ ४, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध मोर्चा कस्ने नेताहरुलाई आगामी निर्वाचनमा टिकट दिन आनाकानी गरेका छन् । ओलीले ११औँ महाधिवेशनमा आफू र आफ्नो प्यानलविरुद्ध चुनावी मैदानमा उत्रिएका नेताहरूलाई चुनावी टिकट दिन आनाकानी गरेपछि आन्तरिक विवाद चुलिएको छ।

शनिबार (माघ ३ गते) बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा गरेका नेताहरूको नाममा असहमति जनाए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले १६५ मध्ये अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाए पनि महाधिवेशनमा फरक धारमा देखिएका नेताहरू भने मारमा परेका छन् ।
यी हुन् टिकट पाउन संर्घष गरिरहेका र वञ्चित भएका नेताहरू:
योगेश भट्टराई (ताप्लेजुङ): उपमहासचिव भट्टराईलाई ताप्लेजुङबाट टिकट दिन अध्यक्ष ओलीले अस्वीकार गरेका छन् । बैठकमा भट्टराईको नाममा ओलीले कडा असहमति जनाएको स्रोतको दाबी छ ।
सुरेन्द्र पाण्डे (चितवन–१): महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डेलाई एमालेले उमेदवारको सूचीबाट बाहिर राखेको छ । उनको निर्वाचन क्षेत्र चितवन–१ मा कृष्णराज पाठकलाई उम्मेदवार बनाइएको छ ।
ईश्वर पोखरेल (काठमाडौं–५): अध्यक्षका प्रत्यासी पोखरेलको निर्वाचन क्षेत्रमा अझै उमेदवारको टुंगो लाग्न सकेको छैन ।
ठाकुर गैरे (पाल्पा–२): २०७९ मा निर्वाचित गैरेको स्थानमा यसपटक उपाध्यक्ष विष्णु पौडेललाई टिकट दिइएको छ । गैरेले महाधिवेशनमा पोखरेल प्यानलबाट सचिवमा प्रतिस्पर्धा गरेका थिए ।
कृष्णगोपाल श्रेष्ठ (काठमाडौं–९): सचिवमा प्रतिस्पर्धा गरेका श्रेष्ठको क्षेत्रमा पनि उम्मेदवार छान्न बाँकी छ ।
विनोद ढकाल (मोरङ): महाधिवेशनमा सचिवका उम्मेदवार ढकालको नाम पनि उम्मेदवारको सूचीमा समावेश गरिएको छैन ।
अन्य नेताहरू: महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका अरुण नेपाल, कर्ण थापा, पुरुषोत्तम पौडेल र विन्दा पाण्डेका निर्वाचन क्षेत्रमा पार्टीले अन्य व्यक्तिलाई उम्मेदवार छनोट गरिसकेको छ ।
यद्यपि, ओलीविरुद्ध प्यानलमा रहेका उपमहासचिव गोकर्ण विष्टले भने गुल्मी–२ बाट पुनः टिकट पाएका छन् । काभ्रे–२ मा गोकुल बास्कोटाको टिकटबारे निर्णय गर्ने जिम्मा अध्यक्ष ओलीले आफैँसँग राखेका छन् ।
भट्टराईको ‘नोट अफ डिसेन्ट’ र असन्तुष्टि
उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उपमहासचिव योगेश भट्टराईले सचिवालय बैठकमा तीनबुँदे ‘नोट अफ डिसेन्ट’ (असहमति) राखेका छन् । उनले टिकट वितरणमा कुनै स्पष्ट मापदण्ड नबनाइएको र महाधिवेशनको रिसिबि साँध्न खोजिएको आरोप लगाएका छन् ।
स्रोतका अनुसार भट्टराईले बैठकमा भने, “पार्टीलाई एकताबद्ध बनाउनुको साटो महाधिवेशनको भावनाका आधारमा प्रतिशोध राखेर टिकट वितरण गरियो । यो सन्तुलित भएन ।” उनले यसबारे लिखित असहमति पत्र आइतबार बुझाउने तयारी गरेका छन् ।
भट्टराईले आफू उम्मेदवार हुने वा नहुने कुराले फरक नपर्ने तर पार्टीका उम्मेदवारलाई जिताउन आफू सक्रिय रहने बताएका छन् ।
यस घटनाले एमालेभित्र महाधिवेशनपछिको गुटबन्दी र शक्ति संघर्ष अझै कायम रहेको संकेत गरेको छ ।


