आशिका तामाङ बनिन् रास्वपाबाट धादिङ-१ मा उम्मेदवार
सहयात्रा टिभी
काठमाडौं । माघ ५, सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ मा उम्मेदवार बनेकी छन्।

रास्वपाले सोमबार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच आशिका तामाङलाई धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको टिकट प्रदान गरेको हो। टिकट हस्तान्तरण गर्दै पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले उनलाई औपचारिक रूपमा प्रमाणित गरेका थिए।
आशिका तामाङ यसअघि काठमाडौं क्षेत्र नं. २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर, अहिले आफ्नो जन्मथलो धादिङ-१ बाट रास्वपाको तर्फबाट चुनाव लड्ने निर्णयमा पुगेकी हुन्। उनी जर्मनीको बसाइ छोडेर नेपाल फर्किएर राजनीतिमा सक्रिय हुन लागेकी चर्चित अभियन्ता हुन्।
उनले रास्वपामा प्रवेश गर्नुअघि जेनजी आन्दोलनका घाइतेहरूको मुद्दालाई प्रमुख एजेन्डा बनाएकी थिइन्। विभिन्न स्रोतहरूका अनुसार, उनको यो प्रस्तावलाई सम्बोधन गर्दै रास्वपाले तीन जना जेनजी घाइतेहरूलाई समानुपातिक (बन्दसूची) मा समेट्ने र केन्द्रीय समितिमा पनि स्थान दिने सहमति गरेको छ।
आशिका तामाङ सरसफाइ, समाजसेवा तथा विभिन्न सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहेकी छन्। विशेष गरी धादिङमा उनले थुप्रै सामाजिक कार्यहरू गरेकी छन्। जेनजी आन्दोलनका घाइते तथा प्रभावित परिवारहरूलाई निरन्तर सहयोग पुर्याउँदै आएकी उनको यो कदमले युवा तथा सामाजिक अभियान्ताहरूको राजनीतिक प्रवेशलाई थप चर्चा दिएको छ।
आफ्नो सामाजिक पहिचान र स्थानीयस्तरमा गरेको कामको जगमा उनी यसपटक धादिङ-१ बाट संसद्को यात्रा तय गर्ने दाउमा छिन्।


