उम्मेदवार चयनमा सहमति खोज्दै नेपाली कांग्रेस : देउवा र कोइराला पक्षबीच ‘गोप्य’ छलफल
सहयात्रा टिभी
काठमाडौं । माघ ५, नेपाली कांग्रेसभित्र आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा सहमतिको प्रयास तीव्र पारिएको छ। पार्टीका संस्थापन (शेरबहादुर देउवा) र इतर (शेखर कोइराला) पक्षबीच काठमाडौंको महाराजगन्जमा सामूहिक छलफल जारी रहेको छ।

पार्टीभित्रको आन्तरिक कलह र गुटगत विवादलाई किनारा लगाउँदै साझा उम्मेदवार तय गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्। बैठक देउवा निवास बाहिर अर्कै स्थानमा बसिरहेको र यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
बैठकमा सहभागी एक सहमहामन्त्रीका अनुसार निर्वाचन जित्न सक्ने प्रभावशाली व्यक्तिलाई मात्र उम्मेदवार बनाउने गरी मापदण्ड बनाइँदै छ। “कहाँबाट कसलाई उठाउँदा चुनाव सुनिश्चित हुन्छ, त्यसैका आधारमा छलफल केन्द्रित छ,” ती नेताले भने, “हामी आजै नामहरू टुङ्ग्याएर भोलि मनोनयन दर्ता गर्ने तयारीमा छौँ।”
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ। यस परिस्थितिमा दुवै पक्षले अदालतको फैसलालाई शिरोधार्य गर्ने समझदारी गरेका छन्। “लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेशलाई चुनौती दिने प्रश्नै उठ्दैन, जे फैसला आउँछ हामी सबैले स्वीकार गर्छौं,” बैठकमा सहभागी अर्का एक पदाधिकारीले स्पष्ट पारे।
भोलि (मंगलबार) उम्मेदवारी दर्ता गर्ने अन्तिम समय रहेकाले आजै नामावलीमा सहमति जुटाउन नेताहरूमाथि दबाब बढेको छ। महाराजगन्जको यो बैठकले सम्भवतः आज साँझसम्म उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


