चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौँ आउँदै

सहयात्रा टिभी

काठमाडौं । माघ ७, नेपालको तरल राजनीति र बदलिँदो भूराजनीतिक परिवेशका बीच चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार नेपाल आउने भएको छ। सिपिसीको अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) को नेतृत्वमा उक्त टोली काठमाडौँ आउन लागेको हो।

चिनियाँ दूतावास स्रोतका अनुसार यो टोली तीन दिनसम्म नेपालमा रहनेछ। नेपालमा घोषित निर्वाचनको तयारी भइरहेको र आन्तरिक राजनीतिमा अस्थिरता बढिरहेका बेला हुन लागेको यो भ्रमणलाई कुटनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।

चिनियाँ टोलीको यो भ्रमण विशेष गरी नेपालका राजनीतिक शक्तिहरूसँगको सम्बन्धलाई पुनर्ताजगी गर्न र पछिल्लो समय दुई देशबीच देखिएको भनिएको ‘अविश्वास’ को अध्ययनमा केन्द्रित हुनेछ। टोलीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरी सौहार्दपूर्ण संवाद गर्ने कार्यक्रम तय भएको छ।

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको फेरबदल र जटिल बन्दै गएको भूराजनीतिक दबाबका बीच चीनले नेपालका शक्ति केन्द्रहरूसँग प्रत्यक्ष संवाद अघि बढाउन लागेको हो। नेपालमा चुनावको माहोल बनिरहँदा छिमेकी मुलुकबाट हुन लागेको यो उच्चस्तरीय राजनीतिक भ्रमणले नेपालको आगामी राजनीतिक दिशा र वैदेशिक सम्बन्धका आयामबारे चिनियाँ चासोलाई प्रस्ट पारेको छ।

तीन दिने बसाइका क्रममा टोलीले नेपालको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको वातावरण र छिमेकीसँगको सम्बन्धबारे गहन बुझाइ बनाउने प्रयास गर्ने स्रोतको दाबी छ।

प्रकाशित : 21 January, 2026

प्रतिक्रिया दिनुहोस्