समानुपातिकबाट हटाइएकी विवादित टासी ल्हाजोमलाई हुम्लाबाट प्रत्यक्षको टिकट
सहयात्रा टिभी
काठमाडौं । माघ ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवादका कारण समानुपातिकतर्फको बन्दसूचीबाट हटाएकी टासी ल्हाजोमलाई अन्ततः हुम्लाबाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। पार्टीभित्रको तीव्र दबाब र कानुनी जटिलताका बीच सभापति रवि लामिछानेले उनलाई हुम्लाको टिकट थमाएका हुन्।

यसअघि रास्वपाले टासीलाई समानुपातिकतर्फ आदिवासी जनजाति महिला क्लस्टरको पहिलो नम्बरमा राखेको थियो। सो स्थानमा रहँदा उनी सांसद बन्ने निश्चित जस्तै थियो। तर, उनीमाथि लागेका विभिन्न गम्भीर आरोप र विवादका कारण पार्टीले बन्दसूचीबाट उनको नाम हटाउने निर्णय गरेको थियो।
टासी ‘फ्री तिब्बत’ अभियानमा संलग्न रहेको र उनको नेपाली नागरिकतासमेत शंकास्पद रहेको आरोप लाग्दै आएको छ। यिनै विवादका कारण विगतमा सुशीला कार्कीले उनलाई मन्त्री बनाउन खोज्दा रोकिएको थियो। उनलाई समानुपातिक सूचीमा राखेपछि चिनियाँ पक्षले समेत चासो व्यक्त गरेको दाबी गरिएको छ।
पार्टीले नाम हटाएपछि टासीले कडा आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी थिइन्। निर्वाचन कानुनअनुसार बन्दसूचीमा नाम समावेश भइसकेको उम्मेदवारले आफैँले राजीनामा नदिएसम्म पार्टीले एकलौटी रूपमा नाम हटाउन मिल्दैन। पार्टीको ‘प्राइमरी इलेक्सन’ जितेर आएकी उनले सभापति लामिछानेलाई भेटेर आफ्नो असन्तुष्टि राखेकी थिइन् भने उनका समर्थकले पार्टी कार्यालयमा धर्नासमेत दिएका थिए।
त्यही दबाबका कारण रास्वपा नेतृत्वले उनलाई समानुपातिकबाट हटाएर प्रत्यक्षतर्फ हुम्लाको टिकट दिएको बुझिएको छ। यद्यपि, पार्टीको यो निर्णयलाई लिएर रास्वपाभित्रै आलोचना सुरु भएको छ।
रास्वपाका एक नेताले नेतृत्वको यो कदमलाई ‘बच्कना व्यवहार’ को संज्ञा दिएका छन्। “विवादित व्यक्ति भनेर समानुपातिकको बन्दसूचीबाट नाम हटाइयो, फेरि तिनै व्यक्ति प्रत्यक्षमा चुनाव लड्दा चाहिँ कसरी निर्विवाद भइन् ?” ती नेताले प्रश्न गरे।
यो निर्णयले रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र विवादित छविका व्यक्तिप्रतिको नीतिमाथि समेत प्रश्न उठाएको छ।


