राष्ट्रपति पौडेल आज जापान जाँदै

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको विशेष अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । जापान सरकारको निमन्त्रणामा हुन लागेको यस भ्रमणका लागि राष्ट्रपतिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११:३० बजे नेपाल एयरलाइन्सको उडान नं. ४३३ बाट जापानतर्फ प्रस्थान गर्ने कार्यतालिका छ । भ्रमण सम्पन्न गरी उनी आगामी माघ २१ गते दिउँसो ४:३० बजे नेपाल एयरलाइन्सकै उडान नं. ४३४ बाट स्वदेश फर्कनेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते दुई देशको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका उपलक्ष्यमा जापान सरकारद्वारा आयोजित विशेष स्वागत समारोहमा भाग लिनेछन् । भ्रमणको अर्को महत्वपूर्ण कार्यक्रम अन्तर्गत माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच राजकीय शिष्टाचार भेटवार्ता हुनेछ । सोही दिन राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ ।

जापान बसाइका क्रममा विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् । यसका साथै राष्ट्रपतिले जापानी व्यावसायिक समुदायसँग छलफल गर्ने र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । यस भ्रमणमा राष्ट्रपतिका साथमा प्रथम महिला सबिता पौडेल र नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरू समेत सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : 1 February, 2026

प्रतिक्रिया दिनुहोस्