उच्च पहाडी भेगमा हिमपात र तराईमा कुहिरोको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदलाब आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अहिले कुहिरो लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा आंशिक बादल देखिएको छ । देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका कतिपय स्थानमा कुहिरो लाग्ने र कर्णाली तथा सुदूरपश्चिमका पहाडी एवं हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशका हिमाली भेगमा पनि आंशिक बदली रहने भए तापनि अन्य क्षेत्रको मौसम भने सफा रहनेछ ।

रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा बादल लाग्नेछ भने ती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ । तराईका भू-भागमा राति पनि हुस्सु लाग्ने देखिएको छ ।

तराई क्षेत्रमा लाग्ने कुहिरो र हुस्सुका कारण बिहानीपखको जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई तथा सडक यातायातमा आंशिक अवरोध पुग्न सक्ने देखिएको छ । मौसममा आएको यो परिवर्तन र यसबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित : 1 February, 2026

प्रतिक्रिया दिनुहोस्