‘निर्वाचन सुरक्षाको चुनौती टर्‍यो, ढुक्क भएर मतदान गर्ने वातावरण बन्यो’ : कावा प्रमुख आयुक्त भण्डारी

सहयात्रा टिभी

काठमाडौं । माघ २३, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकमा पूर्ण रूपमा शान्तिपूर्ण वातावरण बनेको बताएका छन् । निर्वाचन घोषणाको प्रारम्भिक चरणमा सुरक्षालाई लिएर उब्जिएका संशयहरू अब निवारण भइसकेको उनले स्पष्ट पारेका हुन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका कारण सुरक्षा संवेदनशीलता बढेको थियो । सोही आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ का लागि निर्वाचनको मिति तय गरेका थिए ।

विद्रोहपछिको संक्रमणकालीन अवस्था र नयाँ–पुराना शक्तिहरूबीचको सन्तुलन मिलाउनुपर्ने चुनौतीका बीच निर्वाचन हुन लागेकाले सुरुमा सुरक्षा चासो हुनु स्वाभाविक रहेको भण्डारीले बताए । “यो शताब्दीकै सुरक्षा सन्दर्भमा पेचिलो विषय थियो, त्यसैले हामीले निर्वाचन घोषणाको भोलिपल्टैदेखि छलफल सुरु गरेका थियौँ,” उनले भने, “संविधान जीवितै छ, तर विद्रोहपछिको सरकार भएकाले शक्तिहरूबीच सन्तुलन कायम नगरे निर्वाचन शान्तिपूर्ण नहुने जोखिम थियो ।”

आयोगले सुरक्षा चुनौतीहरूको पहिचान गरी सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक सघन छलफल गरेको जानकारी दिएको छ । ती छलफलहरू मुख्यतः दलका नेता, उम्मेदवार र मतदान गर्न जाने मतदाताको सुरक्षामा केन्द्रित रहेका थिए ।

सुरक्षा निकायको पछिल्लो तयारी र ब्रिफिङका आधारमा अब सुरक्षाको विषयमा चिन्ता लिनुपर्ने अवस्था नरहेको आयोगको निष्कर्ष छ । कावा प्रमुख आयुक्त भण्डारीका अनुसार निर्वाचन बिथोल्न खोज्ने तत्त्वहरू सुरुमै परास्त भइसकेका छन् ।

“सबै कोणबाट विश्लेषण गर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,” उनले थपे, “निर्वाचन अब कसैले बिथोल्न सक्दैन, ढुक्कसँग र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ ।” निर्वाचन आयोगले मतदातालाई बिना कुनै त्रास मतदान प्रक्रियामा सहभागी हुन समेत आह्वान गरेको छ ।

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्