भारतको कोइलाखानी विस्फोटमा खोटाङका एक कामदार बेपत्ता
सहयात्रा टिभी
काठमाडौं । माघ २५, भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक कामदार बेपत्ता भएका छन् ।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् ।
रत्न खानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए । मेघालयमा सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तले आफूलाई जानकारी दिएको राउतले बताएका छन् ।
खानीमा भेटिएका शवहरू आगोले डढेर चिनिने अवस्था नभएको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । उनका अनुसार, रत्नको नागरिकता, डायरी र मोबाइल भने कोठामै छ । राई रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए ।
विस्फोटमा हालसम्म खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको छ ।
गम्भीर घाइते नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पूर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाई हुन् । मेघालयबाट शव घरमा ल्याउन भने परिवारलाई कठिनाइ भइरहेको छ ।
सम्पत्ति कमाउन गएका आफन्त अवैध कोइलाखानीको विस्फोटमा परेपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ ।


