चुनाव जिते पनि सांसद बन्न नपाउने चर्चाबारे रविले दिए यस्तो जवाफ

सहयात्रा टिभी

काठमाडौं । माघ २६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चुनाव जिते पनि सांसद बन्ने नपाउने चर्चा यतिबेला व्याप्त छ । उनका विरोधीहरूले यही कुरालाई चर्काएर रविलाई भोट दिनुको औचित्य नगरेको बताउने गरेका छन् ।

यसअघि दुईपटक जितेको चितवनको क्षेत्र नम्बर २ बाट तेस्रोपटक उम्मेदवार बनेका छन् रवि । उनी अहिले आफ्नो चुनावी क्षेत्रमा पुगेर पार्टी पङ्क्तिसँग भेटघाट र अन्तरक्रिया गरिरहेका छन् । मतदाताहरूलाई पनि भेटेर उनीहरूको कुरा सुनिरहेका छन् । यही क्रममा उनलाई एक मतदाताले सांसद निर्वाचित भए पनि स्वतः निलम्बित हुने प्रावधानबारे प्रश्न सोधे । जवाफमा रविले यस्तो हुनु नहुने आशय प्रकट गरेका छन् ।

उनले जवाफ दिए, ‘सभामुख पहिलेकै देवराज घिमिरे भए त होला स्वतः (निलम्बन) । ओलीको आदेशका भरमा टाँसिदिने भए होला । तर, यो देशमा नियम छ, कानून छ, संसदीय नियमावली छ, सिस्टम छ । सबै कुरा कानून बमोजिम हुन्छ ।’ यदि आफू संसद छिर्न नपाए पनि जनताका लागि काम गरिरहने रविको भनाइ छ ।

उनले भने, ‘म सांसद हुनुभन्दा पहिले के थिएँ ? म राजनीतिमा आउनुभन्दा पहिले के थिएँ ? पत्रकार थिएँ । पत्रकारका रूपमा पनि केही काम गरिएको थियो कि थिएन ? मान्छेका रूपमा पनि गर्न सकिन्छ नि ? मान्छे मात्र भए त पुग्छ भने अरु कुराको चिन्ता गर्नु पर्दैन । सबै प्रक्रियामा हुने कुरा हुन् । प्रतिशोधपूर्ण र गलत क्रियाकलाप भयो भने त के गर्ने ? तपाईँको पसल कसैले लुटिदिए के गर्ने भनेजस्तै हो । तर, यो देशमा नियम छ, कानून छ, कानूनी प्रक्रियामा हुन्छ । मलाई अदालति प्रक्रियामा मलाई धेरै विश्वास छ । न्याय प्रक्रियामा पनि विश्वास छ ।’

रविविरुद्ध अहिले देशका विभिन्न अदालतमा सहकारी ठगीसम्वन्धी मुद्दाहरू विचाराधीन छन् । उनी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि झेलिरहेका छन् । महान्यायाधिवक्ताको कार्यालयले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरे पनि यसको कार्यान्वयन भइसकेको छैन । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सांसद पदमा रहन नसक्ने कानूनी प्रावधान रहेको छ ।

प्रकाशित : 9 February, 2026

प्रतिक्रिया दिनुहोस्