राष्ट्रिय सभामा आज प्रधानमन्त्रीले ‘चलचित्र विधेयक’ पेस गर्दै

सहयात्रा टिभी

काठमाडौं । माघ  २८, सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ ।

आजको बैठकको मुख्य कार्यसूचीमा प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सोही बैठकबाट पारित गराउन सभासमक्ष प्रस्ताव लैजानेछिन् ।

यसैगरी, बैठकमा मन्त्रीहरूसँगको प्रश्नोत्तर कार्यक्रम समेत राखिएको छ । जसअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा संसदीय समितिका प्रतिवेदनहरू पनि पेस हुनेछन् । विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछिन् ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित : 11 February, 2026

प्रतिक्रिया दिनुहोस्