विज्ञप्ति जारी भएपछि त्रिभुवन विमानस्थल हाताभित्र निषेधाज्ञा जारी
सहयात्रा टिभी
काठमाडौं । माघ २९, जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ ।

विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासनले पूर्वजानकारी गराई गरिने विरोधका कार्यक्रमबाट पनि सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा क्षति भए आयोजकबाट क्षतिपूर्ति वापतको रकम असुल गरिने पनि भनेको छ ।


