रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको उद्घोष

सहयात्रा टिभी

काठमाडौं । फागुन १, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प गरेका छन् । १० वर्षे सशस्त्र युद्धको उद्गम थलो मानिने यस क्षेत्रबाट ‘जनयुद्ध दिवस’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आफूमा विगतको सशस्त्र विद्रोहकै समयको जस्तो नयाँ ऊर्जा र उत्प्रेरणा सञ्चार भएको बताएका छन् । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते रुकुम, रोल्पा, सिन्धुली र गोरखाका विभिन्न स्थानमा आक्रमण गरी सुरु गरेको युद्धको स्मरण गर्दै उनले यस वर्षको दिवस आफ्नो लागि विशेष रहेको उल्लेख गरे ।

भावुक र उद्वेलित मुद्रामा प्रस्तुत भएका संयोजक प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुमा गरिब, महिला र आदिवासी जनजातिको रगत र बलिदान निर्णायक रहेको चर्चा गरे । उनले ती वर्गको योगदान नभएको भए आज देश समावेशी र समानुपातिक गणतन्त्रको अवस्थामा नहुने भन्दै रुकुमेली जनताको उत्प्रेरणाले नै आफूलाई सधैं अघि बढ्ने शक्ति दिएको स्वीकार गरे ।

देशको वर्तमान राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण ठान्दै प्रचण्डले मुलुक कठिन मोडबाट गुज्रिरहेको धारणा राखे । २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ सालमै गर्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले यस्तो संकटको घडीमा इतिहासबाट शिक्षा लिएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुको विकल्प नभएको बताए । उनले यस अवसरलाई समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा लिएको बताउँदै जनयुद्धकालीन दृढताका साथ नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्