चीनमा बन्यो न्यानो छाला भएको मोया नामक नयाँ रोबोट

सहयात्रा टिभी

एजेन्सी – काठमाडौं । फागुन १, चीनको साङ्घाईमा सार्वजनिक गरिएको मोया नामक नयाँ रोबोट अहिले व्यापक चर्चामा छ ।

यो रोबोट केवल हिँडडुल गर्नसक्ने भएकाले मात्र चर्चित बनेको होइन । मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने भएकाले यसको चर्चा चुलिएको हो ।

झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का मुस्कानजस्ता संकेतहरूले यसलाई अन्य आम रोबोटहरूभन्दा फरक बनाएको छ ।

मोयाको डिजाइन नै यसरी गरिएको छ कि यसको सामुन्ने उभिएको व्यक्तिलाई मेसिन होइन कि एक सुन्दर युवतीको अगाडि उभिइरहेको अनुभूति हुन्छ ।

अझ यसको छाला हल्का न्यानो बनाइएको छ । त्यसैले यो रोबोट हेर्दा मात्र होइन छुँदा पनि मानिसकै जस्तो स्पर्श अनुभूति हुन्छ । नजिक उभिएर कुरा गर्दा यसले आँखामा आँखा जुधाउँछ र कुरा गरिरहेको व्यक्तितर्फ ध्यान केन्द्रित गर्छ ।

यस्तै ससाना मानवीय व्यवहारहरूले गर्दा मेयाले सबैलाई चकित बनाएको छ । किनकि सामान्यतया रोबोटहरूमा यस्तो स्वाभाविक व्यवहार देखिँदैन ।

यस रोबोटभित्र क्यामेरा र सेन्सर जडान गरिएका छन् जसले अगाडि उभिएको व्यक्तिको अनुहार र चालढाल पहिचान गर्छन् । यही कारणले यसलाई बायोमेट्रिकमा आधारित रोबोट पनि भन्ने गरिएको छ ।

आफ्नो अगाडिको व्यक्तिको चालढाल क्याप्चर गरेसँगै यसको एआई प्रणालीले ती डाटालाई प्रोसेस गर्छ र त्यसकै आधारमा रोबोटका आँखाको संकेत, अनुहारका भाव र शरीरको कम्पन निर्धारण हुन्छ ।

बाहिरबाट हेर्दा यो सबै स्वाभाविक देखिन्छ तर वास्तविकतामा भने यसले पहिल्यै तय गरिएका ढाँचा अनुसार नै काम गरेको हुन्छ । वास्तवमा यो रोबोटले आफैं केही महसुस नगरी प्राप्त डाटाका आधारमा प्रतिक्रिया दिने गर्दछ ।

मोयाको यस्तो मानवरूपी व्यवहारले अहिले नयाँ बहस जन्माइरहेको छ । धेरैले यसलाई वृद्धहरूको हेरचाह, अस्पताल वा ग्राहक सेवा जस्ता क्षेत्रमा उपयोगी हुन सक्ने बताइरहेका छन् । त्यस्ता ठाउँमा मेसिन नै भए पनि यदि मानिसजस्तै लाग्यो भने सेवाग्राहीलाई सहज अनुभूति हुन सक्छ ।

 

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्