महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)
सहयात्रा टिभी
काठमाडौं । फागुन ३, फाल्गुन कृष्ण चतुर्दशीको पावन अवसरसँगै आज देशभर महाशिवरात्रि पर्वको रौनक छाएको छ। आराध्यदेव भगवान् शिवको महिमा गाउँदै आज बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनको अभूतपूर्व घुइँचो लागेको छ। ‘बम बम भोले’ र ‘ॐ नमः शिवाय’ को गुञ्जनले यतिबेला सम्पूर्ण वायुमण्डल नै शिवमय र आध्यात्मिक बनेको छ।

विशेषगरी काठमाडौँको पावन पशुपतिनाथ क्षेत्रमा आज श्रद्धा र भक्तिको उत्साहपूर्ण दृश्य देखिएको छ। पशुपतिनाथको दर्शनका लागि मुलुकका विभिन्न भागका साथै छिमेकी देश भारतबाट समेत हजारौँको सङ्ख्यामा आएका साधुसन्त, तीर्थयात्री र सर्वसाधारणको महासागर नै ओर्लिएको छ। हातमा जल, बेलपत्र र पूजा सामग्री बोकेका श्रद्धालुहरू घण्टौँसम्म लाममा बसेर देवादिदेव महादेवको आराधना गरिरहेका छन्।

शिवको प्रिय दिन मानिने आजको दिनमा व्रत बस्ने, अभिषेक गर्ने र रात्रिमा जाग्राम बसेर ‘धुनी’ जगाउने प्राचीन परम्परा छ। पशुपति क्षेत्रमा देखिएको साधुसन्तहरूको चहलपहल, भजनकीर्तनको ध्वनी र भक्तजनको उत्साहले महाशिवरात्रिको गरिमालाई झनै उच्च बनाएको छ। सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउन सयौँ स्वयंसेवक र सुरक्षाकर्मीहरू परिचालित भए पनि भक्तजनको चाप अझै बढ्दो क्रममा छ।













