‘जित्ने होइन, ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धति खोजौँ’ : विश्वप्रकाश शर्मा
सहयात्रा टिभी
काठमाडौं । फागुन ७, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचनअघि नै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बिहीबार सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी प्रतिबद्धता घोषणासभालाई धरानमा सम्बोधन गर्दै शर्माले ‘जित्नेभन्दा पनि टिक्ने’ प्रधानमन्त्रीको संवैधानिक सुनिश्चितता खोज्ने बेला आएको बताएका हुन् ।

पछिल्लो ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गर्न नसकेको इतिहास स्मरण गराउँदै उपसभापति शर्माले अबको ध्यान सरकारको आयु लम्ब्याउने नयाँ पद्धतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
राजनीतिक स्थिरताका लागि शर्माले एक नौलो अवधारणा अघि सारेका छन् । उनको प्रस्तावअनुसार प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतका आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने वातावरण बनाउनुपर्छ ।
बहुमत नपुगेको खण्डमा पनि ‘विनर्स टेक अल’ को नीति बमोजिम पहिलो दललाई आवश्यक संख्या सुनिश्चित गरिदिनुपर्ने उनको तर्क छ । यसो गर्दा दोस्रो र तेस्रो हुने दलहरू सरकार बनाउने खेलमा नलागी पूरै ५ वर्ष प्रतिपक्षमा बस्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए ।
शर्माले यो सहमतिलाई चुनावपछि बस्ने संसद्को पहिलो बैठकबाटै संविधानमा लिपिबद्ध गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसका लागि चुनावअघि नै सरकार, राजनीतिक दलहरू, बौद्धिक वर्ग र नयाँ पुस्ता (जेन-जी) सम्मिलित बृहत् राष्ट्रिय सम्मेलन गर्नुपर्ने उनको भनाइ छ ।
“वर्तमान संविधान र समग्र शासकीय पद्धतिमा रहेका कमजोरी सुधार्न दर्जन बढी बुँदामा सहमति गरौँ,” शर्माले भने, “यो मेरो व्यक्तिगत प्रस्ताव र आह्वान हो, जसले ५ वर्ष स्थिर रहने सरकारको ग्यारेन्टी गरोस् ।”
चुनावी अभियानका क्रममा धरान पुगेका शर्माले नेपाली कांग्रेस आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यका साथ मैदानमा उत्रिएको समेत दाबी गरे । उनले यो प्रस्तावलाई सार्वजनिक बहसको विषय बनाउनसमेत आग्रह गरेका छन् ।


