राजगद्दीको उत्तराधिकारबाट एन्ड्रयुलाई हटाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । फागुन ९ , बेलायती सरकारले राजकुमार एन्ड्रयुलाई राजकीय उत्तराधिकारको रोलक्रमबाट हटाउन नयाँ कानुन ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री लुक पोलार्डले बीबीसीसँग कुरा गर्दै एन्ड्रयुलाई राजा बन्नबाट रोक्नु नै ‘सही कदम’ हुने बताएका छन्।

यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र सार्वजनिक पदमा दुर्व्यवहार गरेको आशंकामा प्रहरी अनुसन्धान खेपिरहेका एन्ड्रयु हाल राजगद्दीको आठौँ नम्बरको उत्तराधिकारीका रूपमा रहेका छन्। यद्यपि, उनलाई गत अक्टोबरमै ‘प्रिन्स’ लगायतका राजकीय पदवीहरूबाट मुक्त गरिसकिएको छ।

बिहीबार मात्रै एन्ड्रयुलाई हिरासतमा लिई ११ घण्टा लामो सोधपुछ पछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको छ। थाम्स भ्याली प्रहरीले विन्ड्सरस्थित उनको निवास ‘रोयल लज’ मा व्यापक खानतलासी गरिरहेको छ।

सरकारले यो कानुनी प्रक्रिया अघि बढाउन बकिङ्घम प्यालेससँग नजिक रहेर काम गरिरहेको मन्त्री पोलार्डले पुष्टि गरेका छन्। उनले एन्ड्रयुलाई राजगद्दीको नजिक पुग्नबाट रोक्न यो कदम चालिएको र यसमा सबै राजनीतिक दलहरूको समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

यो कानुन पारित गर्न बेलायती संसदको दुवै सदनबाट स्वीकृति पाउनुपर्नेछ र अन्ततः राजा चार्ल्स तृतीयले लालमोहर लगाउनुपर्नेछ। यति मात्र नभई, बेलायती राजा राष्ट्रप्रमुख रहेका क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसहित अन्य १४ कमनवेल्थ मुलुकहरूको पनि यसमा सहमति आवश्यक पर्नेछ।
इतिहासकार डेभिड ओलुसोगाका अनुसार सरकार र राजदरबार अहिले एन्ड्रयुसँग जोडिएको संकटबाट राजसंस्थालाई जोगाउन बिचमा ‘अग्नि पर्खाल’ खडा गर्ने प्रयासमा छन्।

यसअघि सन् १९३६ मा राजा एडवर्ड आठौँले स्वेच्छाले राजगद्दी त्यागेपछि उनलाई र उनका सन्तानलाई उत्तराधिकारबाट हटाउन यस्तै कानुनी व्यवस्था गरिएको थियो। हाल लिबरल डेमोक्र्याट र एसएनपी जस्ता विपक्षी दलहरूले पनि एन्ड्रयुलाई हटाउने प्रस्तावको समर्थन गरेका छन्। यद्यपि, केही लेबर सांसदहरूले भने उनी राजा हुने सम्भावना एकदमै न्यून रहेको भन्दै यसको आवश्यकतामाथि प्रश्न उठाएका छन्।

प्रकाशित : 21 February, 2026

प्रतिक्रिया दिनुहोस्