दुर्गा प्रसाईंको दाबी : राजपरिवार पनि सडकमा उत्रँदैछन्

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले आगामी फागुन १६ गतेभित्र देशभरका सर्वसाधारणलाई काठमाडौँमा उपस्थित हुन अपिल गरेका छन् । राष्ट्र, धर्म र नागरिकको हितका लागि निर्णायक आन्दोलनको तयारी भइरहेको भन्दै उनले यस्तो आह्वान गरेका हुन् ।

 

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रसाईंले अबको आन्दोलनमा राजपरिवारका सदस्यहरू समेत प्रत्यक्ष रूपमा सहभागी हुने दाबी गरेका छन् । “राजपरिवारका सदस्यहरू स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनुभएको जानकारी गराउँदछु,” उनले उल्लेख गरेका छन् ।

प्रसाईंले नेपाललाई ‘युक्रेन हुनबाट जोगाउन’ भन्दै फागुन १६ को समयसीमा तोकेर नागरिकहरूलाई काठमाडौँ केन्द्रित हुन आग्रह गरेका हुन् । देशको वर्तमान राजनीतिक र सामाजिक अवस्थालाई सङ्केत गर्दै उनले राष्ट्रको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

उनले लेखेका छन्, “सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भई राष्ट्रलाई युक्रेन हुनबाट जोगाउन हार्दिक आह्वान गर्दछौँ ।”

आफ्नो अपिलमा उनले राष्ट्रियता र धर्मको मुद्दालाई प्राथमिकता दिँदै सबैलाई तन, मन र वचनले ऐक्यबद्धता जनाउन र भौतिक रूपमा उपस्थित हुन अनुरोध गरेका छन् । पछिल्लो समय प्रसाईंले राजतन्त्रको पुनर्बहाली र नागरिक उन्मुक्तिको एजेन्डा लिएर देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : 26 February, 2026

प्रतिक्रिया दिनुहोस्