मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी कागजातबाट मतदान गर्न पाइने
सहयात्रा टिभी
काठमाडौं । फागुन १४, आसन्न निर्वाचनमा मतदाता नामावलीमा नाम भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य वैकल्पिक सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदान प्रक्रियालाई सहज बनाउन यस्तो व्यवस्था गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ र ८४ मा मतदाताले मतदान गर्दा अनिवार्य रूपमा मतदाता परिचयपत्र बोक्नुपर्ने प्रावधान छ । तर, कुनै कारणवश परिचयपत्र साथमा नभएका मतदाताहरूको हकमा आयोगले वैकल्पिक व्यवस्था सुनिश्चित गरेको छ ।
कुन-कुन कागजातले मान्यता पाउँछन्?
आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निम्नमध्ये कुनै एक आधिकारिक कागजात देखाएर मतदान गर्न सक्नेछन्:
१. नेपाली नागरिकताको प्रमाणपत्र
२. राष्ट्रिय परिचयपत्र
३. राहदानी (पासपोर्ट)
४. जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा)
५. सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले यो निर्णय कार्यान्वयनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी, कर्मचारी र अन्य सरोकारवालाहरूलाई आवश्यक जानकारी गराउने निर्णय गरेको छ ।
यसैबीच, गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायहरूलाई यो निर्णय कार्यान्वयन गर्न तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्देशन दिएको छ । मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदान केन्द्रमा हुनसक्ने अन्योल हटाउन सरकारले यो कदम चालेको हो ।


