यस वर्ष होली पर्वमा मेला महोत्सव आयोजना गर्न रोक
सहयात्रा टिभी
काठमाडौं । फागुन १५, जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ ।

साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ ।
प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ
होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ ।


