उपत्यकामा रास्वपाको ‘घण्टी अभिवादन’ अभियान

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि काठमाडौँ उपत्यकामा बृहत् ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जनतासँगको प्रत्यक्ष भेटघाट र सम्बन्ध विस्तारका लागि रास्वपाले यो अभियान थालेको हो ।

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा भेला भएर पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसहित काठमाडौँ, ललितपुर र भक्तपुरका उम्मेदवारहरूले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । पशुपतिस्थित गौशालाबाट सुरु भएको यो अभियानले शनिबार दिनभर उपत्यकाका विभिन्न स्थानको परिक्रमा गर्ने तालिका रहेको छ ।

गौशालाबाट सुरु भएको अभियान चाबहिल, जोरपाटी, साँखु, मुलपानी र पेप्सीकोला हुँदै भक्तपुर प्रवेश गर्नेछ । भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायकमा जनसम्पर्क गरेपछि टोली जडिबुटी हुँदै ललितपुरतर्फ लाग्ने रास्वपाले जनाएको छ ।

ललितपुरको ग्वार्को, मंगलबजार, जावलाखेल र पुल्चोकमा ‘घण्टी अभिवादन’ गरेपछि टोली दिउँसो २ बजेपछि काठमाडौँका बाँकी क्षेत्रहरूमा केन्द्रित हुनेछ । जसअन्तर्गत कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला र स्वयम्भू लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसार गरिनेछ ।

यस्तै, अभियानको अन्तिम चरणमा टोली बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी र गोङ्गबु पुग्नेछ ।

दिनभर उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य निर्वाचन क्षेत्र र चोकहरूमा पुग्ने यो अभियान साँझ ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने कार्यक्रम छ । जनताका कुरा सुन्न र आफ्नो एजेन्डा पुर्‍याउन यो अभियान प्रभावकारी हुने विश्वास रास्वपाले लिएको छ ।

प्रकाशित : 28 February, 2026

प्रतिक्रिया दिनुहोस्