बोलिभियामा सेनाको विमान दुर्घटना : ११ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । फागुन १६, बोलिभियाको पश्चिमी सहर एल अल्टोमा सेनाको एउटा मालवाहक विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सान्ता क्रुज सहरबाट उडेको उक्त विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बोलिभियाको हवाई ट्राफिक नियन्त्रण प्राधिकरणका अनुसार स्थानीय समय अनुसार शुक्रबार साँझ ६:२० बजे (जीएमटी २२:२०) उक्त दुर्घटना भएको हो । विमान धावनमार्ग (रनवे) बाट चिप्लिएर नजिकैको राजमार्गमा गुडिरहेका सवारी साधनहरूसँग ठोक्किएको थियो । दुर्घटनालगत्तै विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।
बोलिभियाको रक्षा मन्त्रालयले आफ्नो ‘सी-१३० हर्कुलस’ विमान दुर्घटनामा परेको पुष्टि गरेको छ । उक्त विमानले बोलिभियाको केन्द्रीय बैंकका लागि बैंक नोटहरू ओसारपसार गरिरहेको थियो । मन्त्रालयले विमानमा नोट भएको पुष्टि गरे पनि मृतकको आधिकारिक संख्या भने खुलाएको छैन ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त विमानमा रहेका बैंक नोटहरूको हाल कुनै ‘क्रयशक्ति’ नरहेको स्पष्ट पारेको छ । ती नोटहरू संकलन गर्नु वा प्रयोगमा ल्याउनु कानुनी अपराध हुने चेतावनी दिँदै अधिकारीहरूले सर्वसाधारणलाई दुर्घटनास्थलबाट टाढा रहन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सञ्चारमाध्यमका अनुसार विमान दुर्घटना भएलगत्तै केही स्थानीय मानिसहरू नोट टिप्नका लागि घटनास्थलमा झुम्मिएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष र नराम्ररी क्षति भएका सवारी साधनहरू देख्न सकिन्छ ।
रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले भने, “मेरी दिदी गाडीमा भएकै बेला विमान ठोक्किएको थियो । विमानको टायर गाडीमाथि खस्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ, हामीले उहाँलाई तत्काल अस्पताल पुर्यायौं ।”
हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।


