इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको इरानी राज्य नियन्त्रित टेलिभिजनले पुष्टि गरेको छ। ८६ वर्षीय खामेनीको मृत्युसँगै इरान सरकारले देशभर ४० दिनको शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

इरानको सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार खामेनीको शनिबार बिहान सबेरै मृत्यु भएको हो। उनी तेहरानस्थित आफ्नै कार्यालयमा जिम्मेवारी सम्हालिरहेका बेला भएको आक्रमणमा मारिएको जनाइएको छ। यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले खामेनी सुरक्षित रहेको दाबी गरे पनि अन्ततः राज्य टेलिभिजनका प्रस्तोताले भावुक हुँदै उनको मृत्युको आधिकारिक पुष्टि गरेका हुन्।

खामेनीको मृत्युको खबर सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत खामेनी मारिएको दाबी गरेका थिए। ट्रम्पले इरानी नागरिकहरूलाई सम्बोधन गर्दै अब आफ्नो देशको शासन आफैँ सम्हाल्न समेत आह्वान गरेका छन्।

यो घटना फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो सैन्य आक्रमणको सिलसिला मानिएको छ। इजरायली अधिकारीहरूले उक्त आक्रमणमा खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन्। इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै उनलाई सत्ताबाट हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्य रहेको बताउँदै आएका थिए।

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति सम्हाल्दै आएका खामेनी इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारी थिए। ३७ वर्षसम्म इरानको शासनको बागडोर सम्हालेका खामेनीसँग सेना, न्यायपालिका र सरकारका सबै निकायमाथि अन्तिम अधिकार थियो।

आफ्नो शासनकालमा उनले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानको प्रमुख शत्रुका रूपमा परिभाषित गरेका थिए। पश्चिमा देशहरूको कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्र भएका विभिन्न चरणका विरोध प्रदर्शनका बाबजुद उनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) र बासिज बलको सहयोगमा आफ्नो सत्ता मजबुत राखेका थिए।

खामेनीले इरानको आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आए पनि इजरायल र अमेरिकाको ट्रम्प प्रशासनले उनीमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका थिए। जुन २०२५ मा भएको १२ दिने युद्धपछि इरान र इजरायलबीचको सम्बन्ध चरम तनावमा पुगेको थियो, जसको पछिल्लो कडीका रूपमा यो घटनालाई हेरिएको छ।

खामेनीको मृत्युपछि इरानमा अब सत्ताको उत्तराधिकारी को हुने र यस क्षेत्रको राजनीतिले कस्तो मोड लिने भन्ने विषयमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।

प्रकाशित : 1 March, 2026

प्रतिक्रिया दिनुहोस्