पाकिस्तान शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरे

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।

कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले वाणिज्य दूतावासको परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा स्थिति तनावपूर्ण बनेको थियो ।

यसैबीच, पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको गिलगिटमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र संघको एउटा कार्यालयमा आगजनी गरेको संयुक्त राष्ट्र संघका एक अधिकारीले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा सयौँको संख्यामा मानिसहरू सडकमा उत्रिएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले कर्फ्यु लगाएको छ ।

इस्लामावाद लगायतका अन्य शहरहरूमा पनि शिया संगठनहरूले विरोध र्यालीको घोषणा गरेका छन् भने कराँचीको घटनाका बारेमा प्रहरीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

 

 

प्रकाशित : 1 March, 2026

प्रतिक्रिया दिनुहोस्