निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको आयोगको निष्कर्ष
सहयात्रा टिभी
काठमाडौं । फागुन १७, राष्ट्रिय मानव अधिकार कायोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको मानव अधिकार आयोगको निष्कर्ष निकालेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेल विज्ञप्ति निकालेर भनेका छन्, ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ ।’
देशका विभिन्न भागमा र्याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की तथा कुटपीट हुनु, आचारसंहिता विपरीत भौतिक रुपमा चुनाव चिन्हको प्रयोग हुुनु, विना अनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनुलाई आयोगले आचारसंहिता उल्लंघनको आधारमा रुपमा प्रस्तुत गरेको छ ।
उम्मेदवारहरूले अनुमतिबिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गर्नु, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नु जस्ता तथ्यहरु पाइएको पनि मानव अधिकार आयोगले जनाएको छ ।
मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा अनुगमन टोलीहरु बनाई ४२ जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरेको छ ।
आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल समेत गरेको थियो ।
अनुगमनपछि आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न सबै पक्षलाई भनेको हो ।


