म्याग्दीमा सीसीटीभी र तारजालीसहितको मतगणनास्थल निर्माण

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, म्याग्दीले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणना स्थल तयार पारेको छ ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गणना स्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणना स्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको छ ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए । ‘मतगणना सुुरु भएपछि गणना स्थलको सुरक्षा कडा पारिने छ । तारबार लगाइएको छ ।

भण्डारीका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँ समेत तयार पारिएको छ । प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् ।

८२ वटा मतदान स्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । १२२ मतदान अधिकृत, एक सय २२ सहायक मतदान अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन ।

जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहरुको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।

 

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्