केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज तराई तथा उपत्यकाका केही स्थानमा बादल र तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित : 11 March, 2026

प्रतिक्रिया दिनुहोस्