रुसी तेल खरिद गर्न अमेरिकाले दियो अनुमति

सहयात्रा टिभी

काठमाडौं । फागुन  २९, इरानसँगको युद्ध र खाडी क्षेत्रमा जारी तनावका कारण विश्वव्यापी ऊर्जा बजारमा देखिएको सङ्कटलाई कम गर्न अमेरिकाले समुद्रमा पानीजहाजमा लोड भइसकेका (ट्रान्जिटमा रहेका) प्रतिबन्धित रुसी तेल तथा पेट्रोलियम पदार्थ खरिद गर्न अस्थायी रूपमा अनुमति दिएको छ।

अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले युद्धको समयमा “विश्वव्यापी ऊर्जा बजारमा स्थिरता प्रवर्द्धन गर्ने” उद्देश्यले यो अस्थायी कदम चालिएको बताएका छन्। यो छुट आगामी अप्रिल ११ सम्म लागू हुनेछ।

बेसेन्टले भनेका छन्, “यो अत्यन्तै सीमित र छोटो अवधिको उपाय हो, जुन हाल ट्रान्जिटमा रहेको तेलमा मात्र लागू हुन्छ र यसबाट रुसी सरकारलाई कुनै महत्त्वपूर्ण आर्थिक फाइदा पुग्नेछैन।” यसका साथै, उनले तेलको मूल्यमा देखिएको यो अस्थायी वृद्धि छोटो अवधिको अवरोध मात्र भएको र यसले दीर्घकालमा अमेरिकी अर्थतन्त्र र राष्ट्रलाई ठूलो फाइदा पुर्‍याउने दाबी समेत गरेका छन्।

डेमोक्रेटहरूको आलोचना र भारतलाई दिइएको छुट
यसअघि गत हप्ता मात्रै ट्रेजरी विभागले भारतलाई पनि एक महिनाका लागि रुसबाट तेल र पेट्रोलियम पदार्थ खरिद गर्न यस्तै छुट्टै अनुमति दिएको थियो।

तर, ट्रम्प प्रशासनको यो कदम निकै विवादित बनेको छ। कंग्रेसनल डेमोक्रेटहरूले यस्तो छुटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारलाई आर्थिक रूपले सम्पन्न बनाउन मद्दत गर्ने बताएका छन्। उनीहरूका अनुसार यसले युक्रेनविरुद्धको युद्धमा रुसको लगानी रोक्न र उसलाई कमजोर बनाउन लगाइएका प्रतिबन्धहरूको प्रभावकारितालाई नै निस्तेज पार्नेछ।

पछिल्लो समय इरानसँगको युद्धको कारण विश्व बजारमा तेल आपूर्तिमा गम्भीर अभाव देखिएको छ। यही अभाव र सङ्कटलाई कम गर्ने प्रयासस्वरूप ट्रम्प प्रशासनले रुसी तेल खरिदमा केही लचकता अपनाएको हो।

तेलको उच्च मूल्यलाई नियन्त्रण गर्न बिहीबारको यो निर्णय आउनु ठिक एक दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकाको ‘रणनीतिक पेट्रोलियम भण्डार’बाट १७ करोड २० लाख (१७२ मिलियन) ब्यारेल तेल बजारमा पठाउन (रिलिज गर्न) आदेश दिएका थिए।

तेलको मूल्यमा वृद्धि र होर्मुज जलडमरूमा सैन्य सुरक्षाको योजना
खाडी क्षेत्रमा थप तीनवटा कार्गो पानीजहाजमा आक्रमण भएपछि र इरानका नयाँ सर्वोच्च नेताले ‘होर्मुज जलडमरू’ लाई अवरुद्ध गरिरहने चेतावनी दिएपछि बिहीबार विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ। होर्मुज जलडमरू यस्तो प्रमुख समुद्री मार्ग हो, जहाँबाट विश्वको करिब पाँचौं भाग (२० प्रतिशत) तेल आपूर्ति हुने गर्छ।

यसैबीच, ट्रेजरी सेक्रेटरी बेसेन्टले स्काई न्युजसँग कुरा गर्दै अमेरिकाले होर्मुज जलडमरू हुँदै जाने पानीजहाजहरूलाई “सैन्य रूपमा सम्भव हुनासाथ” स्कर्टिङ (सुरक्षा पहरा) गर्न सुरु गर्ने बताएका छन्। उनले सैन्य स्कर्टिङको सम्भावित आवश्यकता सधैं अमेरिकी योजनामा रहेको स्पष्ट पार्दै सुरक्षित मार्ग सुनिश्चित गर्न सम्भव हुनासाथ यो कदम चालिने जानकारी दिएका छन्।

रुसको प्रतिक्रिया: ‘अमेरिकाले सत्य स्वीकार गर्‍यो’
अमेरिकाले प्रतिबन्धित रुसी तेल खरिदमा अस्थायी छुट दिएपछि रुसले यसलाई आफ्नो अपरिहार्यताको रूपमा अर्थ्याएको छ। रुसी आर्थिक दूत किरिल दिमित्रिभले आफ्नो देशको तेलविना विश्व ऊर्जा बजार स्थिर रहन नसक्ने बताएका छन्।

दिमित्रिभले टेलिग्राममा पोस्ट गर्दै भनेका छन्, “अमेरिकाले यथार्थ कुरालाई स्वीकार गरिरहेको छ: रुसी तेलविना विश्व ऊर्जा बजार स्थिर रहन सक्दैन।” विश्व बजारमा स्थिरता ल्याउन अमेरिकाले चालेको यो कदमले रुसी ऊर्जाको महत्त्वलाई नै पुष्टि गरेको उनको भनाइ छ।

प्रकाशित : 13 March, 2026

प्रतिक्रिया दिनुहोस्