दुबई विमानस्थलमा अलपत्र २७२ नेपालीको उद्धार, नेपाल एयरलाइन्सले थाल्यो विशेष उडान

सहयात्रा टिभी

काठमाडौं । फागुन  २९, अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकहरूको हवाई क्षेत्रमा उडान बन्द भएको छ। गत फागुन १६ गतेदेखि उक्त क्षेत्रको आकाशमा उडान निषेध गरिएसँगै त्यहाँ अलपत्र परेका नेपाली नागरिकहरूलाई सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले विशेष उडानमार्फत उद्धार गर्न थालेको छ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार, बिहीबार दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई विशेष उद्धार उडानमार्फत काठमाडौं ल्याइएको छ। सोही विमानमार्फत काठमाडौं विमानस्थलमा रोकिएर अलपत्र परेका २६० जना यात्रुलाई भने दुबई पुर्‍याइएको थियो।

उद्धारको यसै क्रमलाई निरन्तरता दिँदै आज (शुक्रबार) पनि निगमको विमानले काठमाडौंबाट २६७ जना यात्रु लिएर दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याउने कार्यक्रम रहेको प्रवक्ता पुनले जानकारी दिए।

इरानमाथिको आक्रमणपछि मध्यपूर्वको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यावसायिक हवाई उडानहरू बन्द गरिएका कारण नेपालीहरू गन्तव्यमा पुग्न र स्वदेश फर्किन नपाएर अलपत्र परेका थिए। सोही असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले उद्धार उडान सुरु गरेको हो।

प्रकाशित : 13 March, 2026

प्रतिक्रिया दिनुहोस्