प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदलाई आयोग परिसरमा प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।

राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ । सबै सांसदहरुको सपथग्रहण कार्यक्रम भने चैत १२ गतेका लागि तय भएको आयोगले जनाएको छ ।

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्