पेन्टागनले ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ ।

अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो ।

अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीको मन्जुरी दिन भनेको छ ।

यो रकम अहिलेसम्म इरानमा भएको अभियानको लागतभन्दा कयौं धेरै भएको अखबारको भनाइ छ । यसको उद्देश्य खर्च भइसकेका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको समाचारमा उल्लेख छ ।

पछिल्ला दुई हप्तामा पेन्टागनका तर्फबाट ‘फन्डिङ’ का लागि अलग–अलग अनुरोध पेश भएको बताइएको छ । रकम वृद्धिका लागि गरिएको पछिल्लो माग कांग्रेसमा ठूलो राजनीतिक लडाइँको कारण बन्न सक्ने अखबारको भनाइ छ ।

अखबारले समाचार तयार पार्दासम्म अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस विषयमा मागेको प्रतिक्रिया अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

 

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्