बाह्रबिसे–कोदारी खण्ड स्तरोन्नति सुरु, २६ किलोमिटर सडक दुई लेनको बनाइँदै
सहयात्रा टिभी
काठमाडौं । चैत्र १०, अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे–कोदारी सडक खण्डको स्तरोन्नति कार्य सुरु भएको छ । विगतको वर्षात र बाढीपहिरोले क्षतिग्रस्त बनेको यस व्यापारिक मार्गलाई सडक विभागले दुई लेनमा विस्तार गर्न सुरु गरेको हो ।

अर्थ मन्त्रालयबाट २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति प्राप्त गरेसँगै सडक डिभिजन कार्यालय चरिकोटले यसको ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण अघि बढाएको हो । आयोजनाको कुल लागतमध्ये १ अर्ब ३४ करोड रुपैयाँमा एमएस एनएस गाल्वा जे.भी.सँग ठेक्का सम्झौता गरिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले जानकारी दिए ।
सडक डिभिजनका अनुसार बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकलाई दुई लेनको बनाउने लक्ष्य राखिएको छ । हालसम्म आयोजनाको ७ प्रतिशत भौतिक प्रगति भएको छ । अहिले मुख्यगरी पहिरोको जोखिम रहेका क्षेत्रहरूमा ग्याविन वाल लगाउने तथा सडकका अन्य आवश्यक संरचना (स्ट्रक्चर) निर्माण गर्ने काम धमाधम भइरहेको सिडिई भण्डारीले बताए ।
निर्माणको जिम्मा पाएको एमएस एनएस गाल्वा जेभीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरी सोही महिनाको २० गतेदेखि कार्यस्थलमा काम सुरु गरेको थियो । निर्माण कम्पनीका सञ्चालक गौरी उप्रेतीले कुनै प्राविधिक वा बाह्य अवरोध नआए तोकिएको समयभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“अहिले साइटमा स्ट्रक्चर निर्माणको काम तीव्र गतिमा भइरहेको छ,” उप्रेतीले भने, “निर्माण सामग्रीको सहज आपूर्ति र आयोजनामा कुनै अवरोध नभएमा हामी समयमै गुणस्तरीय काम बुझाउने तयारीमा छौँ ।”
नेपाल–चीन व्यापारको लाइफलाइन मानिने अरनिको राजमार्गको यो खण्ड विस्तार भएपछि तातोपानी नाकासम्मको आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको छ ।


