कोलोम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, दर्जनौँ घाइते

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, कोलोम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवान बोकेको एक विमान उडान भरेको केही समयमै दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएको र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

default

वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार अमेरिकी निर्मित ‘सी–१३० हर्कुलस’  विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए । पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामो सहर नजिकै यो दुर्घटना भएको हो ।

कोलोम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले पेरुसँगको सीमा नजिकै भएको यस घटनालाई मुलुककै लागि ‘अत्यन्तै दुखद’ भनी वर्णन गरेका छन् । विमानमा लागेको डढेलोका कारण त्यहाँ रहेका गोलीगठ्ठाहरू विस्फोट भएको उनले जानकारी दिए ।

सैनिक स्रोतका अनुसार ज्यान गुमाउनेहरूमा ५८ सैनिक, ६ वायुसेनाका कर्मचारी र २ जना प्रहरी अधिकारी रहेका छन् । दुर्घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेषभित्र बाँचेकाहरूको खोजी गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोहरूमा स्थानीय बासिन्दाले घाइते सैनिकहरूलाई मोटरसाइकलको पछाडि राखेर अस्पताल पुर्‍याइरहेको देखिन्छ ।

राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै यसलाई ‘भयानक दुर्घटना’ को संज्ञा दिएका छन् । उनले सेनाका उपकरण र विमान आधुनिकीकरण गर्ने योजनामा रहेका ‘प्रशासनिक ढिलासुस्ती’ लाई यसको कारक मान्दै आक्रोश पोखेका छन् । “म अब थप ढिलाइ सहन सक्दिनँ, हाम्रा युवाहरूको जीवन दाउमा छ,” उनले लेखेका छन् । यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।

यो दुर्घटना कोलोम्बियाली वायुसेनाको इतिहासमै सबैभन्दा घातक मध्येको एक हो । गत महिना मात्रै बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

प्रकाशित : 24 March, 2026

प्रतिक्रिया दिनुहोस्