पार्टीका नीति निर्णयमुताबिक मात्रै संसद्मा बोल्न ओलीको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ ।चैत्र १२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।

‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन ।’

पार्टीले संसदीय भूमिका पनि प्रभावकारी हिसाबले अगाडि बढाउने ओलीले बताए । ‘तर, हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने काममा हामी चुक्नु हुँदैन । अगाडि बढ्नुपर्छ,’ ओलीले भने ।

यसका लागि पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए । ओलीले अगाडि भने, ‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन ।’

एकतालाई सुदृढ बनाएर अघि बढ्नुपर्ने र यति बेलाको आवश्यकता पनि एकता नै भएको ओलीले बताए । ‘संसद् पार्टीका नीति निर्णयमुताबिक अनुशासित भएर चल्नुपर्छ । हामी आफू खुसी चल्न डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ,’ ओलीले भने ।

प्रकाशित : 26 March, 2026

प्रतिक्रिया दिनुहोस्