दाउन्नेमा ट्रकको ठक्करबाट बस भीरमा खस्यो : ३ जनाको मृत्यु, १५ घाइते

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १४, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेका दुई सवारी साधनलाई ठक्कर दिँदा उक्त हताहती भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार, अनियन्त्रित गतिमा रहेको ट्रकले लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि काठमाडौंबाट रोल्पा जाँदै गरेको उक्त बस सडकबाट करिब १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा ज्यान गुमाउने तीनमध्ये एक जनाको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार रोल्पाको बागमारा निवासी करिब २५ वर्षीय गोबिन बुढाको मृत्यु भएको हो । अन्य दुई मृतकको अझै सनाखत हुन सकेको छैन । उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल र स्थानीय चिसापानी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीले दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित : 28 March, 2026

प्रतिक्रिया दिनुहोस्