ओली पक्राउको विरोधमा एमाले उत्रियो सडकमा
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १४, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । शनिबार बिहान ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित बनेका कार्यकर्ताहरूले संघीय राजधानी काठमाडौँका विभिन्न स्थानमा आन्दोलन सुरु गरेका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शीर्ष नेताहरूको सचिवालय बैठक बसिरहेकै समयमा काठमाडौँको चावहिल क्षेत्रमा कार्यकर्ताहरूले सडकमा उत्रिएर नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले सरकारको कदमलाई ‘प्रतिशोधपूर्ण राजनीति’ को संज्ञा दिँदै त्यसलाई तत्काल बन्द गर्न माग गरिरहेका छन् ।
अध्यक्ष ओली पक्राउ परेलगतै एमाले नेताहरूले सडक आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । सोही अनुसार पार्टीको आधिकारिक धारणा तय गर्न र आगामी आन्दोलनको ठोस खाका बनाउन अहिले च्यासलमा सचिवालय बैठक बसिरहेको छ ।
शनिबार बिहान ओली पक्राउ परेपछि एमाले पंक्तिमा तीव्र असन्तोष देखिएको छ । काठमाडौँका विभिन्न चोकहरूमा कार्यकर्ता जम्मा हुने क्रम बढ्दो छ भने सरकारविरुद्धको नाराबाजीले राजधानीको राजनीतिक वातावरण तातिएको छ ।


