इरानको तेल कब्जा गर्ने ट्रम्पको संकेत, खार्ग टापु मुख्य निसानामा
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने सम्भावना औंल्याएका छन् । ‘फाइनान्सियल टाइम्स’लाई आइतबार दिएको एक अन्तर्वार्तामा ट्रम्पले इरानको प्रमुख इन्धन निर्यात केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने विषयमा विचार गरिरहेको र आफ्नो प्राथमिकता ‘तेल कब्जा गर्नु’ रहेको बताएका हुन् ।

ट्रम्पले यस सम्भावित कदमलाई गत जनवरीमा भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्राउ गरेपछि त्यहाँको तेल उद्योग नियन्त्रणमा लिने अमेरिकी महत्त्वाकांक्षासँग तुलना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यस्तो कदम चालेमा अमेरिकी सेना त्यहाँ लामो समयसम्म बस्नुपर्ने पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, “सायद हामी खार्ग टापु लिन्छौं। हामीसँग धेरै विकल्पहरू छन् । तर त्यसो गर्नुको अर्थ हामी केही समयका लागि त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ ।”
इरानको अर्थतन्त्रका लागि खार्ग टापु रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । इरानको कुल तेल निर्यातको ९० प्रतिशत हिस्सा यही टापुले ओगट्ने गरेको छ ।
यसअघि गत मार्च १३ मा अमेरिकी सेनाले खार्ग टापुमा रहेका सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उक्त आक्रमणमा ९० वटा लक्ष्यहरूमा प्रहार गरिएको थियो, जसमा नौसैनिक बारुदी सुरुङ भण्डारण केन्द्र, मिसाइल भण्डारण बङ्कर र अन्य थुप्रै सैन्य स्थलहरू रहेका थिए ।
ट्रम्पको यो पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप बढ्ने र तेल बजारमा हलचल ल्याउने देखिएको छ ।


