इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १९, इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् ।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ ।

भग्नावशेषले पुरिएर एक जनाको मृत्यु

स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भवनको भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको मृत्यु भएको छ । मृतक उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी बासिन्दा हुन् । उद्धारकर्मीहरूले सुलावेसी टापुको उत्तरी छेउमा रहेको मनाडो शहरमा नराम्ररी क्षतिग्रस्त भएको एउटा भवनको भिडियो पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद समितिले व्यवस्थापन गरेको उक्त भवनको भग्नावशेषमा मानिसहरू जम्मा भएको देखिन्छ । घरभित्रका फर्निचरहरू बाहिर हुत्तिएका छन् भने कतिपय धातुका संरचनाहरू बाङ्गिएका छन् ।

थप पराकम्पहरूको सम्भावना

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्पहरू गइसकेका छन् । राष्ट्रिय भूगर्भ एजेन्सीले अझै थप पराकम्पहरू आउन सक्ने अनुमान गरेको छ । एजेन्सीले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ, ‘अहिलेसम्म भवनहरूमा क्षति पुगेको र मानिसहरू घाइते भएको रिपोर्टहरू आएका छन् ।’इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रमा पर्दछ । एजेन्सीले सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरो जान सक्ने ठाउँबाट टाढा रहन तथा सुरक्षित निकासका संकेतहरू पछ्याउन सल्लाह दिएको छ ।

जापानद्वारा समुद्री सतहमा सामान्य परिवर्तनको पूर्वानुमान

जापानको मौसम विज्ञान एजेन्सीले यो भूकम्पका कारण तटीय क्षेत्रमा ‘समुद्री सतहमा सामान्य परिवर्तन’ हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ । शिजुओका, ओकिनावा र होक्काइडो लगायतका क्षेत्रहरूमा यो परिवर्तन देखिन सक्ने बताइएको छ । तर सुनामीबाट ठूलो क्षति नहुने अनुमान छ ।

 

प्रकाशित : 2 April, 2026

प्रतिक्रिया दिनुहोस्