काठमाडौँमा प्रहरीको ‘सर्च अपरेसन’ : १८ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २१, काठमाडौँ उपत्यकामा पछिल्लो समय बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले चलाएको विशेष अपरेसनमा १८ जना पक्राउ परेका छन् । शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।

सार्वजनिक जनजीवन सुरक्षित र भयरहित बनाउने उद्देश्यले चलाइएको यस अभियानमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बौद्ध क्षेत्रमा सक्रिय रहेर गुण्डागर्दी गर्ने श्याम लामा समूहका सदस्य ‘डिम्पल’ भनिने प्रविण तामाङ रहेका छन् । यस्तै, कलंकी र बाफल क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बिर्जु महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य पक्राउ पर्नेहरूमा कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा सक्रिय सुजन कार्की, स्यूचाटार क्षेत्रमा संलग्न सरु गुमागाईं र बौद्धमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेका विकि लामा रहेका छन् ।

यसैगरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दरबारमार्ग, ठमेल र बौद्ध लगायतका क्षेत्रबाट थप १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सोधपुछ र थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले राजधानीलाई सुरक्षित बनाउने नीतिअनुसार यो अभियान जारी रहने र थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने बताएका छन् । प्रहरीले अहिले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 4 April, 2026

प्रतिक्रिया दिनुहोस्