कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा आज सुनुवाइ हुँदै
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २२, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्चले उक्त मुद्दालाई आजको दैनिक पेसी सूचीको १२ औँ नम्बरमा राखेको छ।

यसअघि चैत १ गतेका लागि पेसी तोकिए पनि समय अभावका कारण पालो नआएपछि मुद्दा सरेको थियो। आज हुने सुनुवाइका लागि दुवै पक्षका शीर्ष नेताहरू सर्वोच्च अदालत पुग्ने भएका छन्।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले उक्त प्रक्रियालाई आधिकारिकता दिएपछि विवाद सुरु भएको हो। विशेष महाधिवेशनबाट भएको नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै पूर्वउपसभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिटमा विशेष महाधिवेशन र त्यसपछिका निर्णयहरूलाई चुनौती दिइएको छ।
आज हुने बहसका लागि रिट निवेदकका तर्फबाट पूर्वउपसभापति पूर्णबहादुर खड्का र विपक्षीका तर्फबाट उपसभापति विश्वप्रकाश शर्मा सर्वोच्च अदालत जाने तयारीमा छन्। यसअघिको पेसीमा पनि खड्का बहसका लागि अदालत पुगेका थिए।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि कांग्रेसभित्रको संस्थापन र असन्तुष्ट पक्षबीचको कानुनी लडाइँले आजको सुनुवाइबाट कस्तो मोड लिन्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।


