विभिन्न विकास आयोजना अघि बढाउन वर्षमान पुनको सुझाव

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।

पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई गति दिन माग गरे । पुनले रोल्पास्थित माडी बहुउद्धेश्यीय जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारसँग माग गरे ।

रोल्पा नगरपालिका १ र २ मा माडीखोला थुनेर बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्ने सरकारी स्वामित्वको हाइड्रो इलेन्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसनको संयुक्त लगानीमा निर्माण ढाँचा तयार पारिएको उक्त आयोजनाको निर्माण रोकिएको छ ।

पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१/०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

यस्तै पुनले कृषि उत्पादनका लागि देशकै उर्बर भूमि रहेको लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत विकास परियोजना अघि बढाउन सुझाए ।

पुनले १ सय ६५ निर्वाचन क्षेत्रकै विकासका लागि समानुपातिक वितरण हुने गरी सांसदको सिफारिसमा केही आयोजना छुट्याउन माग गरे । विगतमा पनि उक्त परम्परा रहेको उनले स्मरण गरे ।

प्रकाशित : 6 April, 2026

प्रतिक्रिया दिनुहोस्