वैशाख ५ देखि हरेक शनिबार असनमा सवारी साधन प्रवेश निषेध
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २६, काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।

यसअघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर वैशाख ५ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको हो।
‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।
यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ । यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रबर्द्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।


