धनगढीका मेयरले आफ्नो पारिश्रमिक ४४ लाख सामाजिक सेवामा खर्चे
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २५ , धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पारिश्रमिक तथा विभिन्न सेवा सुविधा बापत पाउने सबै रकम सामाजिक सेवामा खर्च गरेका छन् ।

उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सेवा सुविधा नलिने घोषणा गरेका थिए । तर कानुन बमोजिम खातामा रकम प्राप्त हुँदै आएको छ ।
त्यसपछि सेवासुविधा बापत पाएको रकममा पाँच लाख १७ हजार थपेर उनले ४४ लाख बराबरको रकम सामाजिक सेवामा खर्च गर्ने भएका छन् ।
मेयरमा निर्वाचित भएपछि चार वर्षमा सेवा सुविधा बापत मेयर हमालले ३८ लाख ८२ हजार ८३२ रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकममा थप गरेको व्यक्तिगत पाँच लाख समेत गरेर कुल ४४ लाख रुपैयाँ पुग्ने उनको सचिवालयले जनाएको छ ।
अहिलेसम्म हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण र व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा प्राप्त रकम खर्च गरेका छन् ।
हमालले प्राप्त (चालु आर्थिक वर्ष समेत) गरेको ३८ लाख ८२ हजार ८६३ रुपैयाँ मध्ये अहिलेसम्म २३ लाख ९० हजार ८७८ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरिसकेका छन् । अब १४ लाख ८५ हजार १९५ रुपैयाँ (पाँच लाख थपेको समेत) बाँकी रहेको छ । बाँकी रकम समेत सामाजिक क्षेत्रमा खर्च गरिने उनी बताउँछन् ।
आफूले प्राप्त गरेको सेवा सुविधा वापतको रकम खर्चको अवस्थाबारे मेयर हमालले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।
उनले आफूले पाउने सेवा सुविधा बापतको रकममा व्यक्तिगत रूपमा थपेर सामाजिक कार्यमा खर्च गर्दै आएको बताए ।
