स्थगित संसद् बैठक एक घण्टा बितिसक्दा पनि भएन सुरु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३० , सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि सुरु भएको छैन ।

 

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए ।

आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।

तर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद् बैठकमा असहज स्थिति सिर्जना भएको छ ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएका थिए ।

त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृतिका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसद्‌मा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाएका थिए ।

सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।

तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए । यही विवादका बीच सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे ।

अहिले सभामुखले विपक्षी दलका नेता, प्रमुखसचेतक, सचेतकलगायतसँग छलफल गरिरहेका छन् ।

 

प्रकाशित : 13 May, 2026

प्रतिक्रिया दिनुहोस्