दक्षिण लेबनानमा इजरायली आक्रमण, २२ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३१ , इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीचको युद्धविराम प्रयासका बाबजुद दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण तीव्र भएको छ। बुधबार भएका पछिल्ला आक्रमणहरूमा कम्तीमा २२ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली ड्रोनहरूले राजधानी बेइरुतबाट करिब २० किलोमिटर टाढा पर्ने तटीय राजमार्गका तीनवटा सवारी साधनलाई निशाना बनाउँदा ८ जनाको मृत्यु भएको छ। यस्तै, दक्षिणका सिडोन, मालिएह र नाकुरा लगायतका क्षेत्रमा गुडिरहेका कारहरूमाथि भएका प्रहारमा थप ४ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार अरब सलिम गाउँमा ६ जना साथै रुमिने र हरौफमा ४ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हिजबुल्लाहको हतियार भण्डार र रकेट लन्चरहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। साथै, दक्षिणका ९ वटा गाउँका बासिन्दालाई तत्काल घर छाड्न चेतावनी समेत दिइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै एक महिनाअघि युद्धविरामको घोषणा गरे तापनि लेबनानमा हिंसा रोकिएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम घोषणा भएयता मात्रै ४०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन्।

हिजबुल्लाहले पनि इजरायली सेनाको उपस्थिति रहेका क्षेत्रमा ड्रोन र रकेटमार्फत प्रतिकार गरिरहेको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले आफ्ना बेसहरू वरपर भइरहेका विष्फोट र सैन्य गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सैनिकहरू जोखिममा रहेको बताएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले उद्धार कार्यमा खटिएका स्वास्थ्यकर्मीहरूलाई नियतवश निशाना बनाएको आरोप लगाएको छ। मङ्गलबार दुई प्यारामेडिक (स्वास्थ्यकर्मी) मारिएको घटनालाई मन्त्रालयले ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लंघन’ भनेको छ। यद्यपि, इजरायलले भने आफ्नो निशाना आतंककारी मात्र रहेको र स्वास्थ्यकर्मीलाई लक्षित नगरेको दाबी गर्दै आएको छ।

बिहीबार वासिङ्टनमा इजरायली र लेबनानी अधिकारीहरूबीच वार्ताको तेस्रो चरण सुरु हुने अपेक्षा गरिएको छ। तर, हिजबुल्लाह नेता नइम कासिमले एक पत्र जारी गर्दै आफ्नो समूहले ‘मैदान नछाड्ने’ घोषणा गरेपछि वार्ताको सफलतामा आशङ्का उब्जिएको छ। गत मार्च २ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको यो द्वन्द्वमा लेबनानतर्फ हालसम्म २ हजार ८९६ जना र इजरायलतर्फ २२ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ।

प्रकाशित : 14 May, 2026

प्रतिक्रिया दिनुहोस्